बीबीसी । इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको पछिल्लो लडाइँका क्रममा हालसम्म कम्तीमा १० जना नेपालीहरूको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।इजरेलस्थित नेपाली दूतावासलाई त्यहाँको प्रहरीले १० नेपाली विद्यार्थीको मृत्यु भएको जानकारी पठाएको बताइएको छ। प्रहरीले अझै एक जना नेपाली नागरिक हराइरहेको र चार जना घाइते भएको र दुई जना सुरक्षित रहेको दूतावासलाई जानकारी दिएको छ।
मृतकहरूमा अधिकांश सूदुरपश्चिम प्रदेशका छन् भने एकजना कर्णाली र एकजना कोशी प्रदेशका पनि रहेका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरेलमा नेपालीहरूको अवस्थाबारे जानकारी दिएका थिएका थिए।
परराष्ट्रमन्त्रीले नेपाल सरकार नेपालीहरूलाई आवश्यक पर्ने सबै सहयोग गर्न र उद्धार गर्नुपर्ने भएमा त्यो पनि गर्ने अवस्थामा रहेको जानकारी सदनलाई गराए। उनले त्यसका लागि सरकारले एउटा उच्चस्तरीय संयन्त्र बनाइसकेको र आवश्यकता अनुसार त्यसले काम गर्ने बताए। साउदले भने, “दक्षिणी इजरेलमा रहेका नेपालीको सुरक्षाको प्रत्यभूति गर्न नेपाली दूतावासलाई निर्देशन दिइएको छ र त्यहाँ उद्धार गर्नु परेमा त्यसको व्यवस्था मिलाइनेछ।”
हाल इजरेलमा ४ हजार ५ सय नेपालीहरू केयरगिभरको रूपमा कार्यरत रहेको र २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा रहेको पनि उनले जानकारी दिए। परराष्ट्रमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा घाइते नेपालको उपचार र उद्धारबारे पनि छलफल भएको उल्लेख छ।
शव नेपाल ल्याउने पहल जारी
इजरेलस्थित नेपाली दूतावासले नेपाली समय अनुसार आइतवार राति जारी गरेको वक्तव्यमा भनिएको छ, ‘दक्षिण इजरेललको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरुको दुखद निधन भएको छ ९नामको सूची छिटै सार्वजनिक गरिने० भने ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। साथै सम्पर्कविहीन रहेका एकजना नेपालीको खोजीकार्य भइरहेको छ।’
‘शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको छ।’ दूतावासले नेपाल फर्कन चाहनेका लागि पनि पहल भइरहेको जनाएको छ।
निधन भएका नेपालीहरूको शव फिर्ता गर्न र इच्छुक नेपालीहरूलाई उद्धार गरी स्वदेश फिर्ता गराउन नेपाल सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ। इजरेलमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ। आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले गाजा क्षेत्र नजिकै रहेको एउटा कृषि फर्ममा काम गर्दै सिक्ने योजना अन्तर्गत रहेका १७ जना नेपालीमध्ये तीन जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र दुई जना सकुशल रहेको जानकारी दिएका थिए। उनले १२ जना नेपालीहरू भने सम्पर्कविहीन रहेको जानकारी सदनलाई गराएका थिए भने केही नेपाली हताहत भएको पनि हुनसक्ने बताएका थिए।त्यसअघि परराष्ट्रमन्त्रालयले शनिवार साँझ एउटा विज्ञप्ति जारी गर्दै १४ जना कामदार कार्यरत एउटा कृषि फर्ममा आक्रमण भएको र त्यसमा ९ जना घाइते भएका विवरण आएको जनाएको थियो।
उसले गाजा क्षेत्र नजिकै रहेका नेपाली नागरिकहरूको उद्धारका लागि आवश्यक समन्वय भइरहेको जनाएको थियो।
“घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरेली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको छ,” मन्त्रालयले वक्तव्यमा उल्लेख गरेको थियो।
शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।
त्यस क्रममा हालसम्म हमासको आक्रमणमा ६०० जना भन्दा बढी मारिएको इजरेलले जनाएको छ। त्यस्तै गाजामा ३७० भन्दा बढीको मृत्यु भएको खबर छ।