डाक्टर सुमित्रा गौतमको नेतृत्व एक पटक फेरि अब्बल सावित….

213

भक्तपुर । भक्तपुर अस्पताल ९७ अंक सहित प्रदेशस्तरीय अस्पतालमा सर्वोत्कृष्ट भएको छ । बागमती प्रदेश मातहत रहेको भक्तपुर अस्पताल न्युनत्तम सेवा मापदण्डको मूल्यांकनमा सर्वोत्कृष्ट भएको हो । विक्रम सम्बत १९६१मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल हो । भौतिक पूर्वाधार र मेडिकल सुविधाको हिसावले पछि पारिएको र सरकारी अस्पतालको रुपमा भक्तपुरमा समेत हेपिएको यो अस्पातल प्रदेश सरकार मातहत आएपछि भने ठुलो फड्को मारेको छ । भक्तपुर अस्पतालले स्थापना र संचालनको इतिहासमै पछिल्लो समय ठूलो विकाश गरेको छ । मेसु डा. सुमित्रा गौतम नेतृत्वमा आएपछि प्रदेश सरकारको सहयोगमा १ सय १६ वर्षपछि भक्तपुर अस्पतालले आइसीयु सेवा शुरु गर्न सफल भएको देखिन्छ । आधा दर्जन भेन्टिलेटरसहित आइसीयु सेवा संचालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको छ भने २ दर्जन बेडसहित अस्पतालले एचडीयु सेवा समेत शुरु गरेको छ ।

भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी समेत शुरु भएको छ । ल्याप्रोस्कोपी सर्जरी भनेको दूरबिनबाट गरिने शल्यक्रिया हो । यो सर्जरी शुरु भएसंगै काठमाडौ गएर सर्जरी गर्नुपर्ने दिनको अन्त्य भएको भन्दै बिरामीहरु खुशी भएका छन् । यस अघि रिफर सेन्टरको रुपमा बदनामी कमाएको अस्पताल अहिले स्थानीय विरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ । अस्पतालहरुको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्नेक्रममा आएको एक सरकारी मूल्यांकन टोलीले ३ दिन लगाएर न्युनत्तम सेवा मापदण्ड मूल्यांकनको नर्म्स अनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठले जानकारी गराएका हुन् ।


अस्पतालकी मेडिकल सुपरिण्टेण्डेण्ट डा. गौतमले सिंगो टिमको सहि मूल्यांकन भएको प्रतिक्रिया दिएकी छन् । अस्पतालको सेवा र विकासको बिषयमा सामूहिक एकता रहेको बताउदै डा। गौतमले सबै स्टाफको मिहिनेतले उत्कृष्ट नतिजा प्राप्त भएको र यसलाई अझ बढाउदै जाने बताइन । यस अस्पतालमा दैनिक ८ सय बढी नयाँ बिरामी उपचारका लागि आउने गर्दछन । यस अस्पतालमा बिर्सने रोग अल्जाइमर्सको निस्शुल्क उपचार हुने गर्दछ । भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम समेत शुरु भएको छ । भक्तपुर अस्पताल यस अघि डा। गौतमकै कार्यकालमा बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल समेत सावित भएको थियो । प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई प्रदेश सरकारले पुरस्कृत समेत गरेको थियो ।