काठमाडौं : ‘जीवनमा सबैभन्दा पीडादायी क्षण कुन रह्यो?’ उद्घोषक सरोज घिमिरेले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सोधे।’मेरो जीवनसाथीको निधन’, श्रेष्ठले मलीन स्वरमा जवाफ दिए।’अनि सबैभन्दा खुशीको क्षण?”हरेक दिन सारा नेपालीले दिने माया र सद्भाव’, मलीन अनुहार उज्यालो बनाउँदै श्रेष्ठ बोले। उनले अगाडि थपे, ‘जीवनमा बिनास्वार्थ कसैबाट प्राप्त हुने माया अतुलनीय छ। म भाग्यमानी छु। मैले माया नै माया पाएँ।’शुक्रबार सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा श्रेष्ठले आफ्ना जीवनका आरोह अवरोहहरू कतै मलीन हुँदै कतै उत्साहित हुँदै सुनाए।
श्रेष्ठको स्वास्थ्यलाभको कामना एवं पारिवारिक सांगीतिक साधनाको प्रस्तुतिमा जहाँ उनले आफ्ना सन्तानसहित आफ्ना हिट र कालजयी गीतहरू प्रस्तुत गरे। उनले गीत मात्र प्रस्तुत गरेनन्। ती गीतसँग जोडिएका किस्सा पनि सुनाए। सुरुवातमा श्रेष्ठकी छोरीले सुरु गरिन् तिमी जून जस्तै गीतबाट। आफूले रचना गरेको उक्त गीत छोरीले गाउँदा प्रफुल्लित देखिन्थे श्रेष्ठ। लगत्तै यमन श्रेष्ठ ले नौलो बस्ती गीत सुरु गरे। त्यसपश्चात् आफ्नो स्वर्गीय जीवनसाथी यशोदा सुवेदी जो क्यान्सरबाट बितिन्। उनलाई डेडिकेट गर्दै अर्बौं मान्छेहरूमा भन्ने गीत प्रस्तुत गरे श्रेष्ठले।













