शव सङ्कलन गर्न उद्धार टोलीहरूलाई हम्मेहम्मे

109

बीबीसी । लिबियामा त्सुनामी जसरी आएको विनाशकारी बाढीका कारण बगेर समुद्रमा पुगेका मानिसहरूको शव सङ्कलन गर्न उद्धार टोलीहरूलाई हम्मेहम्मे परिरहेको बताइएको छ। सर्वाधिक प्रभावित डेर्ना सहरको एम्बुलेन्स अधिकारीहरूका अनुसार त्यहाँ कम्तीमा २,३०० जनाको ज्यान गइसकेको छ।

डेर्नामा तटीय क्षेत्रमा आइतवार आइपुगेको एउटा समुद्री आँधीका कारण दुईवटा बाँध र चारवटा पुलहरू भत्किएका थिए।त्यसपछि सहरको धेरै भाग बाढी र डुबानमा परेका थिए। रेड क्रेसन्टले त्यहाँ १०,००० जनाजति मानिसहरू हराइरहेका प्रारम्भिक विवरण प्राप्त भएको र ज्यान गुमाउनेहरूको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ।
जिप्ट लगायतका देशहरूबाट बाढीपीडितहरूका लागि केही अन्तर्राष्ट्रिय राहत सामग्री भित्रिन थालेको छ। तर लिबियाको राजनीतिक अवस्थाका कारण देश दुईवटा प्रतिद्वन्द्वी सरकारहरूका बीचमा विभाजित भएकाले उद्धारकार्य प्रभावित भएको छ।

अमेरिका, जर्मनी, इरान, इटली, कतार र टर्कीले राहत सामग्री पठाइसकेको वा पठाउन तयार रहेको बताएका छन्। बाढी आउँदा मानिसहरूलाई बगाएर समुद्रमा पुर्‍याएको, कोही घरको छतमा बसेर जोगिएका जस्ता हृदयविदारक विवरणहरू आइरहेका छन्।

सामूहिक चिहान
बीबीसी न्यूजका एफ्अ वाल्शका अनुसार डेर्ना सहरमा ज्यान गुमाएकाहरूको शव सामूहिक चिहानहरूमा समाधिस्थ गर्नुपरेको छ। आइतवारको समुद्री आँधीपछि बाँध भत्किँदा उर्लेर आएको बाढीले त्सुनामीले जसरी मानिसहरूलाई समुद्रमा बगाएर लगेको घटनामा कम्तीमा २, ३०० जनाको मृत्यु भएको जनाइएको छ। बोरा र कम्बलहरूमा बेरिएका शवहरूलाई त्यहाँका समाधिस्थलमा मशीनले खनेको ठूलो खाडलमा एकसाथ गाड्ने गरिएको छ।

उद्धार
डेर्नामा कार्यरत एक स्वयंसेवक मोहम्मद कमाटीले उद्धारकर्ताहरूले अझै पनि जीवित फेला पर्न सक्ने मानिसहरूको खोजी गरिरहेको जनाएका छन्। “चिकित्सासम्बन्धी अध्ययन र अभ्यास गरेका लिबियाली युवाहरूलाई यहाँ आएर हामीलाई सहयोग गर्न हामी आह्वान गर्छौँ,” उनले रोएटर्स समाचारसंस्थालाई भने।

“हामीसँग नर्सहरूको ठूलो अभाव छ, हामीलाई सहयोग चाहिन्छ।” जल इन्जिनियरिङविज्ञहरूले बीबीसीलाई बताएअनुसार सबभन्दा पहिला डेर्ना सहरभन्दा १२ किलोमिटर परको बाँध भत्किएको र त्यसको पानी ठूलो वेगले तल उपत्यकामा बग्दा सहरनजिक रहेको अर्को बाँध पनि बगाएको हुन सक्ने सम्भावना छ।