काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेका छिन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाई गर्न नहुने बताइन्। उनले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न पनि सरकारलाई सचेत गराइन्।
‘नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी निरन्तर छ। तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश छन्। शिक्षा लोकतन्त्रको पूर्वशर्त हो। लोकतन्त्र शिक्षा र विवेकशील नागरिक लोकतन्त्रमा मानक हुन्। तर यो कुराप्रति सरकार जिम्मेवार देखिएको छैन। तालाबन्दी संस्कृति अन्त्य गरी विश्वविद्यालयहरूको प्राज्ञिक संस्कृतिको लागि दलहरू प्रतिवद्ध हुन नसक्दा सरकार सम्बद्ध दल आवद्ध विद्यार्थी संगठनहरूलै तालाबन्दी गरेको सार्वजनिक समाचारहरू आइरहेका छन। सम्माननीय प्रधानमन्त्रीज्यु विश्वविद्यालयको दिक्षान्त समारोहमा कुलपतिको हैसियतले बोलेका कुरामा प्रतिवद्ध नहुँदा यस्ता व्यवहार स्थापित हुँदै गएका छन्’, सांसद भट्टराईले भनिन्, ‘विश्वविद्यालयहरूमा भएको तालाबन्दीको जिम्मेवारी शिक्षामन्त्रीले लिन नसकेका कारण आज प्राज्ञिक क्षेत्र आन्दालनको केन्द्र बनेको छ। प्राज्ञिक वातावरण बनाउन कुलपति, उपकुलपतिबीच साझा धारणा बनाउन नसक्दा आज विश्वविद्यालयमा यस्ता खालको अवस्थाहरू सृजना भएका छन्। विद्यार्थीहरूको जायज माग सम्बोधन गरी तालाबन्दी खुलाउने काममा लाग्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’सांसद भट्टराईले सत्ता पक्षकै विद्यार्थी संगठनहरूले विश्वविद्यालयलाई तालाबन्दी संस्कृतिको केन्द्र बनाएको आरोप समेत लगाइन्।