सुर्खेत : कर्णालीको कृषिजन्य वस्तुलाई व्यवस्थित गरी कृषकको जीवनस्तर सुधारका लागि बनाएका शीत भण्डारहरु प्रयोगमै नआउने भएका छन्। कर्णालीका अधिकांश जिल्लामा करोडौँ खर्च गरेर बनाएका शीतभण्डारहरू विद्युतकै अभावमा सञ्चालनमा आउन सक्ने अवस्था छैन। ३३ केभी प्रशारण लाइनको विद्युत नियमित नहुँनु र शीतभण्डार सञ्चालनमा लागि प्रयाप्त ज्ञान नहुनुले निर्माण भएका दर्जन कोल्ड स्टोरहरु अलपत्र बन्दै आएका हुन। मौसमी रूपमा प्रशस्त मात्रामा उत्पादन भएका कृषिजन्य उत्पादनलाई शीत भण्डारगृहमा भण्डारण गरी बजारमा माग भएको समयमा अथवा बेमौसमी बजारमा उक्त उत्पादनलाई बजारीकरण गरी किसानको जीवनस्तर उकास्ने उद्देश्य प्रदेश सरकारले राखेर कोल्ड स्टोरहरु निर्माण गरिएका थिए। कर्णालीका चार जिल्ला रुकुमपश्चिममा तीन, सुर्खेतमा तीन (एक निर्माणाधिन), दैलेखमा एक र जुम्लामा एक गरी आठवटा कोल्ड स्टोर निर्माण भएका छन्। करोड बढी लगानी रहेका यी कोल्ड स्टोर एकाधबाहेक बाँकी सबै बन्द अवस्थामा छन्।
सुर्खेतको भेरीगंगा नगरपालिका– १०, छिन्चुमा २०० मेक्ट्रिटन क्षमताको कोल्ड स्टोर (शीत भण्डारणगृह) निर्माण भयो। कोल्ड स्टोर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध नारी जागरण बहुउद्देश्यीय कृषि समूहले निर्माण गरेर सञ्चालनमा ल्याएको हो। त्यतिबेला कोल्ड स्टोर निर्माणपछि आलु, तरकारी, स्याउलगायत फलफूल तथा बिउ भण्डारणका लागि कोहलपुर पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको दाबी गर्दै निर्माण गरिएको थियो। ६ रोपनी जग्गामा निर्माण गरिएको कोल्ड स्टोरमा कृषि विकास निर्देशनालयको ७० लाख, भेरीगंगाको ६५ लाख, साना तथा मझौला आयस्तर वृद्धि परियोजनाको ३९ लाख, नारी जागरणको २९ लाख, कृषि मन्त्रालयको १५ लाख, गुर्भाकोट नगरपालिकाको पाँच लाख गरी कुल २ करोड २३ लाख लगानी गरिएको थियो। तर, हाल यो कोल्ड स्टोर प्रयोगमा नआउँदा हातीको देखाउने दाँत जस्तै भएको छ।
नारी जागरण बहुउद्देश्यीय कृषि समूहले प्राविधिक र विद्युतको भोल्टेजका कारण कोल्ड स्टोर सञ्चालनमा ल्याउन नसकिएको बताउँदै आएको छ। ११ केभीए प्रसारण लाइनबाट आउने बिजुली घटबड हुँदा ट्रान्सफर्मरले काम नगर्ने र जेनेरेटरबाट सञ्चालन गर्न सम्भव नहुने भन्दै समूहले हाल कोल्ड स्टोरमा ताला लगाएको छ। यस्तै, आर्थिक वर्ष २०७५-७६ मा वीरेन्द्रनगरको बुलबुले कृषि हाट बजारमा १ करोड ७५ लाख लागतमा २ सय मेट्रिकटन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको थियो। प्रदेश सरकारको १ करोड, वीरेन्द्रनगर नगरपालिकाको २५ लाख र जिल्ला सहकारी संघ सुर्खेतको ५० लाख लगानी रहेको यो कोल्ड स्टोर पनि प्रयोगविहीन छ।