जनताको पक्षमा काम नगरे पनि गठबन्धन सरकारको विकल्प खोज्दैनौँ : काँग्रेस

14

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। नेपाली काँग्रेसले पार्टीलाई सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत धनुषामा खटिएका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाए। जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै महरले गठबन्धनको साझा अवधारणाअनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए। महरले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको दाबी गरे। उनले सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाव दिनु आवश्यक रहेको बताए।महरले भने, ‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छै्रनन्। खडेरीले किसान थप मारमा परेका छन्। सरकार यी समस्या समाधान गर्न पहल गरिरहेको छैन। त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ।’महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट पार्दै आउने निर्वाचनमा काँग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताए।