काठमाडौँ : नेपाली कांग्रेसले डेङ्गु रोगको महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ। डेङ्गु रोगको महामारीले मुलुकको पूर्वी भूभाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म केही व्यक्तिको ज्यान गइसकेको छ भने उक्त रोगको सङ्क्रमणका कारण सयौँको सङ्ख्यामा नागरिक सिकिस्त बिरामी परेका छन्। सो रोग फैलिने क्रम रोकिएको छैन। समाजमा यसको त्रास फैलिएको छ।
कांग्रेसले आज विज्ञप्तिमार्फत सो सम्बन्धमा बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिन र जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो। साथै, सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसम्बद्ध सङ्घसंस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल गर्दै कांग्रेसले रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न स्थानीय नेता एवं पार्र्टी सदस्यहरूलाई आह्वान गरेको छ। कांग्रेसले महामारीबाट प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ महामारीबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्र्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।