काठमाडौं : ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन्। विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४÷१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहोर्याई, तेहेर्याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए।त्यसैगरी मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाईगर गेट बनाउने प्रतिवद्धतासमेत व्यक्त गरे। धेरै वर्ष पहिले त्यहाँ रहेको टाईगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाइ थियो।
मेयर महर्जनले भने, ‘यो वर्ष हामी त्यो टाईगर गेट बनाउँदछौं। जसले यो चिडियाघरको रिफलेक्सन गर्छ। अर्को कुरा चाहीँ मैले चाहीँ बोलेपछि गर्नैपर्छ। गर्न पाइएन भने रिस उठ्छ। यहाँ चाहीँ ज्येष्ठ नागरिकहरु चिडियाघरमा आउँदाखेरी अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदाखेरी उहाँहरुले दृश्यावलोकन गर्न राम्रोसँग हेर्न सकुन् भन्नका लागि एउटा सटन बसेको चाँही म व्यवस्थापन गर्न गईरहेको छु। त्यो चाहीँ लगभग १४÷१५ सिटको त्यो चाहीँ घुमी रहन्छ।’कार्यक्रममा मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए। कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा सम्मान गरेको थियो।