मोफसलका मौलिक फिल्मलाई अनुदान दिने : चलचित्र बोर्डका प्रवक्ता बुढाथोकी

21

दाङ : चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बोर्डले मोफसल केन्द्रित कार्यक्रमहरु ल्याएको बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमवार घोराहीमा गरेको साक्षात्कार कार्यक्रममा उनले बोर्डले आर्थिक वर्ष ०८०/८१ मा मोफसलमा बनेका चलचित्रहरुलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याएको बताए।बोर्डले मोफसलमा निर्माण भएका ३ वटा लघु चलचित्रलाई अनुदान दिने उनको भनाइ छ। मोफसलमा निर्माण भएका मौलिक चलचित्रहरुलाई प्रवर्द्धन गर्न पोस्ट प्रोडक्सनदेखि प्रदर्शनसम्म बोर्डले अनुदान सहयोग गर्ने उनले बताए। उनले चलचित्रका गतिविधिलाई कुनाकन्दरामा पुर्‍याउने गरी बोर्डले मोफसल केन्द्रित कार्यक्रम ल्याएको बताए। उनले २ वटा चलचित्र महोत्सव गर्ने र सिनेमाको पहुँच विस्तार र साक्षरता बढाउन देशका विभिन्न क्षेत्रमा घुम्ती सिनेमा कार्यक्रम गर्ने जानकारी दिए।