सामुदायिक विद्यालयका प्रधानाध्यापक, अब खुला प्रतिस्पर्धाबाट

32

खोटाङ : दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिकाले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ। अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्ने नगर कार्यपालिकाको तयारी छ। संघीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले व्यवस्था गरेबमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। ‘विज्ञापन गरेर पुनः प्रधानाध्यापक नियुक्त नभएसम्म हालका प्रधानाध्यापकलाई निमित्त दिएर कामकाज गर्ने निर्णय गरिएको छ’, उनले भने, ‘सामुदायिकविद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी नगरपालिकाले कार्यविधि निर्माण गरेको छ। सोही कार्यविधिअनुसार सबै तहका विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया अगाडि बढाइएको छ।’सङ्घीय शिक्षा ऐन र नगरपालिकाले निर्माण गरेको शिक्षा ऐनमा हरेक पाँच–पाँच वर्षमा परीक्षा लिएर प्रधानाध्यापक नियुक्त गर्ने प्रावधान छ। नगरपालिकाले निकाल्ने विज्ञापनअनुसार योग्यता पुगेका शिक्षकलाई खुला प्रतिस्पर्धाबाट कार्यविधि र दुवै शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्त गर्ने जनाइएको छ।