काभ्रे जिल्लाको एक गाउँपालिकामा जिउँदैमा मृत्यु दर्ता

44

काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–३ का कृष्णबहादुर थिङ (ढुंगाना) जीवितै छन्। तर उनको १७ वर्ष पहिले नै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा मृत्यु भएको छाप लागेको छ। त्यति मात्र नभई कृष्णबहादुरको नाममा भएको जग्गासमेत मालपोत कार्यालयबाट अरूकै नाममा पास भइसकेको छ। झट्ट सुन्दा कथा जस्तो लाग्ने, अपत्यारिलो लागे पनि कृष्णबहादुर र उनको परिवारले भोगेको यो यथार्थमा घटना हो। कृष्णबहादुरले खानीखोला–३ का वडाध्यक्ष सागर जिम्बाको सक्रियतामा आफ्नो मृत्यु दर्ता खारेज गरेका छन्। यद्यपि जग्गाबारे के हुन्छ टुंगो छैन।वडा अध्यक्ष सागर जिम्बा आफैँ कृष्णबहादुरलाई लिएर मृत्यु दर्ता खारेजीको लागि जिल्ला प्रशासन कार्यालय धुलिखेलमा पटक–पटक पुगेका थिए। निरन्तर पहलपछि जिल्ला प्रशासन कार्यालयले २०८० असार १३ गते कृष्णबहादुरको मृत्यु दर्ता खारेज गरिदिए। वडाध्यक्ष जिम्बाको अनुसार वडाको अभिलेखमा जिउँदो कृष्णबहादुरको २०६३ असोज २१ गतेको मितिमा मृत्यु दर्ता भएको थियो।