काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुविरुद्धको अभियान सञ्चालन गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेंगु संक्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरेको जानकारी दिए। उनका अनुसार मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गरी लामखुट्टेको बासस्थान पत्ता लगाई नष्ट गर्न आग्रह गरिएको छ।
यस्तै आमसर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायले आआफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय जनाई डेंगु विरुद्धको अभियान सफल पार्न आग्रह गरिएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेंगुका बिरामी बढ्न थालेपछि स्थानीय तह र सर्वसाधारणलाई पनि सरसफाइ गर्न आग्रह गरेको बताए। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थाल्ने भएकोले सरसफाइ अभियान सञ्चालन गर्न भनिएको उनले जानकारी दिए।
गत पुसयता एक हजार ३३७ जनामा संक्रमण छ भने एक जनाको निधन भइसकेको छ। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। सम्भव भएसम्म लामखुट्टे नै भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि मन्त्रालयले आग्रह गरेको छ। यसैगरी उपत्यकाका स्थानीय तहले साउनदेखि ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ।













