काठमाडौं । सीता दाहालको जन्म वि.स २०११ साल असार २१ गते कास्कीको हेम्जामा भएको थियो । उनी ८ वर्षकी हुँदा परिवारचितवनमा बसाइ सरेको थियो । २०२६ साल वैशाखमा हालका प्रधानमन्त्री प्रचण्ड र सीताको मागी विवाह भएको थियो। विवाह भएपछि सीता प्रचण्डकै राजनीतिक गोरेटोमा हिँडिन् । २०२८ सालदेखि सीता कम्युनिष्ट पार्टीको सदस्य भएर भूमिगत राजनीतिको पृष्ठभूमिमा सक्रिय भइन्।
सीताले केही वर्ष अगाडी एबीसी टेलिभिजनसँग भनेकी थिइन्, ‘२०४३ सालदेखि नारायणगढ र २०४६ सालदेखि काठमाडौंमा पार्टी हेडक्वाटर भन्ने भयो। खाना पकाउने र खुवाउने काममात्रै भयो। मैले उहाँ प्रचण्डलाई जसरी सहयोग गर्न सक्थें त्यसरी नै गरें।’ पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउकी सीता दाहालले देशमा जनयुद्ध सुरूवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । २०७० चैतमा जेठी छोरी ज्ञानु दाहाल केसीको क्यान्सरका कारण निधन भएपछि सीताको राजनीतिक सक्रिय हुन छोडिन् ।
तीन छोरी र एक छोराकी आमा सीता २०७४ मा छोरा प्रकाशको निधन भएपछि त झन् थला नै परिन्। २०७४ मंसिर ३ मा छोरा प्रकाश दाहालको निधनको खबर सुनेपछि सीता दाहाल फेरि उठ्न सकिनन्। आफूलाईभन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरूमा शोकले ढलेकी सीता पछि निको नहुने जटिल प्रकारको पार्किन्सन्सबाट ग्रस्त भइन्।
आज २०८० साल असार २७ गते वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको बिहान निधन भयो । उपचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माले बिहान ८ बजेर ३३ मिनेट जाँदा उनको निधन भएको घोषणा गरेका थिए।