काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई स्थापित गर्नुपर्ने बताएका छन्। सोमबार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन्। महामन्त्री थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए। उनले कुनैपनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ। हाम्रा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरू राजनीतिक रूपमा सचेत छन्, त्यहाँ प्रतिष्पर्धा हुन्छ, त्यहाँ सबै हुन्छ तर दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई अन्त्य गर्नैपर्छ, होइन, भने यो पापले हामीलाई यति थिच्छ, हामीले मुक्ति पाउँदैनौँ। संघीय शिक्षा ऐन जस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्छ र त्यसमा नै कुनैपनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भनेर। होइन भने विश्वविद्यालय माथि उठ्न सक्दैन।’विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने बताउँदै उनले उच्च प्राथमिकतामा राखेर संसदमा तत्काल, संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए।