जाने होइन भक्तपुर सूर्यविनायकको बुकाचो गढी

5175

भक्तपुर । भक्तपुरको नयाँ पर्यटकिय गन्तव्य बुकाचो गढीमा अरनिको राजमार्ग जगातीबाट सात किलोमिटरमा पुग्न सकिन्छ । यो स्थान समुन्द्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको छ । यो गढीबाट उपत्यकाको मनोरम दृश्यहरु देख्न सकिने, यहाँबाट जङ्गलका हरियाली दृश्यावलोकन गर्न सकिने, वन्यजन्तु एवं चराको अवलोकन गर्न सकिने तथा माछापुच्छ्रे, गणेश, गौरीशङ्कर, सगरमाथालगायत हिमालको अवलोकन गर्न सकिन्छ । भक्तपुरमा रहेका डोलेश्वर महादेव र आशापुरी दर्शन गर्न जादाँ यो गढीमा पुग्न सकिन्छ ।

गढीमा एक कार्यक्रमकाबीच राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक निर्माण गरिएको छ । नेपाली सेनाको इन्द्र बक्स गणद्वारा आयोजित कार्यक्रममा नेपाली सेनाका उपरथी सागरबहादुर थापा र बागमती प्रदेशका प्रदेशसभा सदस्य किरण थापाले संयुक्तरूपमा सो गढीको उद्घाटन तथा सालिकको अनावरण गरेका हुन् । पृथ्वीनारायण शाहले बुकाचो गढीमा बङ्कर बनाएर बसेको क्षेत्रमा नेपाली सेनाको ५० लाख र सूर्यविनायक नगरपालिकाको २० लाखको लागतमा सालिक निर्माण गरिएको हो । शाहको छ फिट उचाइको पित्तलबाट निर्मित सालिक, बङ्कर क्षेत्रमा दुई कोठासहितको भवन, कम्पाउन्डलगायत संरचना निर्माण गरिएका छन् । नेपाली सेनाका उपत्यका पृतनापति उपरथी सागरबहादुर थापाले नेपालको एकीकरणका सन्दर्भमा पृथ्वीनारायण शाहले बनाउनुभएको गढी, किल्लाको संरक्षण गर्ने र इतिहासलाई जीवित राख्न नेपाली सेना लागिरहेको बताए ।

भक्तपुरका प्रदेश सांसद किरण थापामगरले यो सूर्यविनायक क्षेत्रको नयाँ पर्यटकिय क्षेत्र भएकाले धेरै खालका पुर्वाधार बनाएको बताए । सांसद थापामगर अनुसार नगरपालिकाले यस क्षेत्रमा पिकनिक स्पोर्ट, शौचालय र पानी ट्याङ्की निर्माण गर्नुका साथै भ्यू टावर निर्माण गरेपछि भ्यू टावरबाट हिमाली दृश्यसहित उपत्यका हेर्न र गढीको अवलोकन गर्न उपत्यकालगायत विभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

तस्विर प्रदेश सांसद किरण थापामगरको फेसबुकबाट