‘एक्सन रुम’बाटै प्रधानमन्त्रीले निरीक्षण गरे भेरी-बबई र सुनकोशी-मरिन डाइभर्सन

45

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै प्रधानमन्त्री प्रचण्डले भेरी-बबई डाइभर्सन आयोजना र सुनकोशी मरिन डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका समस्याबारेमा जानकारी लिएका हुन्।एक्सन रुमलाई नियमितरुपमा सक्रिय बनाउने लक्ष्यका साथ प्रधानमन्त्रीले आज पहिलो पटक ती आयोजनाको पछिल्लो अवस्थाबारेमा जानकारी लिएका हुन्। ती दुवै आयोजना नदी पथान्तरण आयोजना हुन् । दुवैमा ‘टनेल बोरिङ मेशिन’ (टिबिएम)को प्रयोग गरिएको छ ।

भेरी-बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रिया पूरा भए पनि हाल बाँधस्थल, विद्युत्गृहलगायतको निर्माण जारी छ । विसं २०७७ मा नै आयोजनाको कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भए पनि अन्य काम भने अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन ।आयोजनाको समग्र अवस्थाबारेमा आयोजना प्रमुख दिनेश भट्टले जानकारी गराउँदै कोरोना कहरलगायतले अपेक्षित काम हुन नसकेको जानकारी गराए। उनले परामर्शदाता कम्पनीको अभावमा काममा केही कठिनाइ भएको बताए। भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका कूल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सो आयोजना सुरु गरिएको हो। आयोजनाबाट ४६ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य छ।