पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आइतबार १४ औँ गाउँ सभा अधिवेशन आह्वान गरी नयाँ आर्थिक वर्ष २०८०/८१ बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम थियो। अधिवेशनबाट ४७ करोड १० लाखको बजेट पेस गर्ने कार्यसूची सहितको प्रस्तावको तयारी भएको थियो।प्रदेश सभाबाट पारित स्थानीय तहको सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ६ को उपदफा १ बमोजिम गणपूरक सङ्ख्या नपुगेको भन्दै अधिवेशन नै रोकियो। ४७ जना गाउँ सभासद् रहेको जलजला गाउँपालिकाले बोलाएको गाउँ सभामा १९ जना सदस्य मात्रै उपस्थित भए। गाउँपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित २७ जना जना गाउँ सभा सदस्य बैठकमा अनुपस्थित भएका कारण गणपूरक संख्या पुगेन। यही कारण दफा ६ कै उपदफा २ बमोजिम मंगलबारका लागि गाउँपालिकाले दोस्रो बैठकको आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए।‘विषयगत शाखामा कुनै पैसा नै नराख्ने, माथिबाट आएको पैसा जति वडालाई भाग लगाएर बाँड्ने भन्ने उहाँहरूको माग छ। गाउँपालिकाबाट कार्यक्रम बनाउन पर्दैन, सबै कार्यक्रमहरू हामी वडाबाट नै बनाउँछौँ भन्ने संविधान विपरीतको माग उहाँहरूले गर्नुभएको छ’, उनले भने, ‘विषयगत समितिमार्फत गाउँपालिकाले दायित्व बोक्ने हो। तर विषयगत समितिमा बजेट नै नराख्ने भन्ने यो कस्तो माग होरु भएको पैसा भाग लगाएर वडामा पठाउने हो भने कृषि, शिक्षा, स्वास्थ्य लगायतका शाखाले निरन्तर रूपमा गर्दै आइरहेका कामलाई कसरी सञ्चालन गर्ने?’

आवश्यक पर्ने प्राविधिक गाउँपालिकामा राखेर कामको जिम्मा गाउँपालिकालाई दिएको अवस्थामा भए जतिको बजेट वडामा पठाउन नसकिने आचार्य बताउँछन्। गाउँपालिकामा रहेका विषयगत शाखा र समितिबाट योजना बनाएर त्यसलाई सभा छलफल गरेर पारित गरेपछि योजनालाई वडा–वडामा लगेर कार्यान्वयन गर्नुपर्नेमा जहिले पनि रोक्ने, अल्झाउने, कार्यपालिकाको बैठक पनि समयमा हुन नदिने गरेर गाउँपालिकाको गतिमा अवरोध गर्ने मनसायपूर्ण नियतले समस्या भइरहेको उनको दाबी छ।फलेवास नगरपालिकाको १३ औ नगर सभाबाट पारित गर्ने भनिएको नीति तथा कार्यक्रम र बजेटमा पनि विवाद भएको छ। आइतबार मध्याह्न १२ बजेटका लागि बोलाएको नगर सभामा नेकपा एमाले र नेपाली काँग्रेसबाट निर्वाचित सदस्यहरूबीच कार्यक्रम संशोधनको विषयमा विवाद भएको हो।











