दुःखद खबर, डुबेको पनडुब्बी जहाजका यात्रुको पहिचान खुल्यो

213

बीबीसी । अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन्। उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ।

एकजना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतवार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए। यो साताको सुरुमा पानीमुनि आवाज सुनिएको खबर आएपछि उक्त जहाजमा रहेकाहरू अझै जीवित छन् कि भन्ने आशा जागेको थियो।

एक सय वर्षभन्दा पहिले डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न धनाढ्य यात्रुसहित त्यो पनडुब्बी पानीमुनि गएको थियो। पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य दाउद शाहजादा (४८) र उनका छोरा सुलेमान (१९) अनि ब्रिटिश अर्बपति हमिश हार्डिङ (५८) पनि उक्त पनडुब्बीमा थिए। पहिला फ्रान्सको जनसेनामा काम गरेका पल-अन्री नार्गेओ (७७) पनि टाइटानिकको भग्नावशेष हेर्न सँगै गएका थिए।

उनले पहिला टाइटानिकको अन्वेषण गरेका थिए। टाइटानिकसम्मको यात्रा गराउने ओशनगेट कम्पनीका प्रमुख कार्यकारी स्टक्टन रश (६१) पनि पनडुब्बीमा थिए। सन् १९१२ मा डुबेको टाइटानिकको भग्नावशेष पानीको सतहभन्दा ३,८०० मिटर गहिराइमा छ। अमेरिकी तटरक्षकहरूका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।