नयाँ सेना प्रमुखले कमाण्ड सम्हाले

65

काठमाडौँ । लेफ्टिनेन्ट जनरल असिम मुनीरले पाकिस्तानको १७ औँ सेना प्रमुखको रुपमा कमाण्ड सम्हालेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाको बिदाईसँगै उनले आज कमाण्ड सम्हालेका हुन् । देशको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा आफ्नो छ वर्षको कार्यकालको अन्त्य गर्दै जनरल बाजवाले रावलपिण्डीमा आयोजित एक समारोहमा लेफ्टिनेन्ट जनरल मुनीरलाई कमाण्डको प्रतीकका रुपमा रहेको डण्डा हस्तान्तरण गरेका पाकिस्तानको दैनिक अखबार डनले जनाएको छ ।

बाजवाले करिब छ वर्षको विस्तारित कार्यकाल पूरा हुनुभन्दा केही अघि जनरल मुनीर र जनरल साहिर शमशाद मिर्जासहित छ जनालाई सम्भावित भावी प्रधानसेनापतिका रुपमा चित्रित गरिएको थियो । जनरल मुनीरको नियुक्तिसँगै नयाँ सेना प्रमुखको नियुक्तिलाई लिएर फैलिएका अफवाह, अनिश्चितता र अनुमानको पटाक्षेप भएको बताइएको छ ।