काठमाडौं : सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसँगै कारण देखाऊ आदेशसमेत दिएको छ। अदालतले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरू विरुद्धको मुद्दा फिर्ता किन लिइएको हो? भनेर सरकारसँग कारण माग गरेको हो।आफूमाथि आक्रमण गर्नेहरूमाथिको मुद्दा फिर्ता लिइएको भन्दै उपप्राध्यापक चलाउने विरोधमा छन्। केही दिन अघि उनीसहित आन्दोलनमा जिल्ला अदालत पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरी नियन्त्रणबाट मुक्त हुनासाथ चलाउनेले त्रिविको कार्यकक्षमै अनशन सुरु गरेका थिए।













