जनगणना अनुसार नेपाली भाषा बोल्नेको संख्यामा वृद्धि

332

काठमाडौं । जनगणना २०७८ अनुसार मातृ भाषाका आधारमा २०६८ को जनगणनामा नेपाली भाषा बोल्नेको संख्या ४४.६३ प्रतिशत भएकोमा अहिले बढेर ४४.८६ प्रतिशत भएको छ। नेपाली पछि धेरै बोलिने मातृभाषा मैथिली भने २०६८ मा ११.६ प्रतिशत रहेकोमा अहिले घटेर ११ प्रतिशत रहेको छ। जनसंख्याको आकारको हिसाबले भने प्रमुख भाषा, धर्म तथा जातिको जनसंख्या घटेको छैन।

नतिजा सार्वजनिक गरेको दुई महिना १० दिन पछि राष्ट्रिय तथ्यांक कार्यालयले जातजाति, भाषा र धर्मको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख हेमराज रेग्मीका अनुसार जातजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट दर्ता गराइएका ७० वटा माग र ध्यानाकर्षणको विषय सम्बोधन गरेर तथ्यांक सार्वजनिक गरिएको हो। जनगणना २०७८ मा प्रमुख धर्म, भाषा र जातजातिको जनसंख्या अनुपातमा फेरबदल देखिएको छ। २०६८ को जनगणना अनुसार धर्मका आधारमा सबैभन्दा धेरै हिन्दुको जनसंख्या ८१.३ प्रतिशत रहेकोमा २०७८ मा ८१.१९ मा झरेको छ।जातजातिको आधारमा २०६८ मा सबैभन्दा धेरै क्षेत्री जनसंख्या १६.६ प्रतिशत रहेकोमा अहिले क्षेत्रीको जनसंख्या १६.४५ प्रतिशत छ।