‘नीति तथा कार्यक्रम पुनर्लेखनको इतिहास छैन … सहमहामन्त्री परियार

12

काठमाडौं : सत्तारुढ नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सो नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेका थिए। सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका हुन्। आफूहरुले पनि विगतमा सरकारहरुले ल्याएका नीति तथा कार्यक्रम र बजेट पढेको उल्लेख गर्दै पुनर्लेखन हालसम्म पनि नभएको र नहुने सहमहामन्त्री परियारको भनाई थियो। उनले सरकारले नेपाली जनताको सुख र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले वर्तमान सरकारले पनि त्यसैलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको दाबी गरे।

सहमहामन्त्री परियारले भने, ‘यो नीति तथा कार्यक्रमको बारे पूर्ववक्ता पूर्वप्रधानमन्त्रीहरु र माननीय सदस्यहरुले धेरै विचारहरु प्रश्तुत पनि गरिसक्नुभएको छ। मैले सुनेँ–यो नीति तथा कार्यक्रम काम लाग्दैन। पुनर्लेखन गर्नुपर्‍यो भन्ने पनि सुने। सम्माननीय सभामुख महोदय, हामीले २०७४ साल बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौं। हामीले सुनेका छौं। पूर्व अर्थमन्त्रीजीहरुले पेस गरेको बजेटहरु पनि हामीले देखेका छौं। तर आजसम्म हामीले, अहिलेसम्म हामीले इतिहासमा पुनर्लेखन गरेको कुनैपनि इतिहास छैन।’सहमहामन्त्री परियारले बजेट परम्परावादी भयो भनेर भन्नुको पनि कुनै तुक नरहेको बताए।