काठमाडौं। आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद्मा पूर्णता दिने भएका छन् । नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । लम्साल काभ्रे र श्रेष्ठ भक्तपुरबाट निर्वाचित सांसद हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसका एक बिना विभागियसहित ४ मन्त्रीलाई जिम्मेवारी थमाएका छन् । उनले कांग्रेसका रामकृष्ण चित्रकारलाई बिना विभागीय मन्त्री बनाएका छन् । यस्तै उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय, पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन् । यस्तै माओवादी केन्द्रबाट गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मोक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा छन् । यसअघि मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसका बहादुर सिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका थिए ।