”भ्रष्टाचारीलाई जोगाउन पार्टीको दुरुपयोग गर्न मिल्दैन”

20

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको कोही पनि व्यक्तिलाई जोगाउने गरी पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरुपयोग गर्न नमिल्ने बताएका छन् । उनले पार्टीले शरणार्थी प्रकरण मात्रै नभएर कुनै भ्रष्टाचारमा मुछिएर अनुसन्धानको घेरामा परेको व्यक्ति पार्टीबाट स्वत: निलम्बन हुने र निर्दोष सावित नभएको अवस्थासम्म पार्टीको जिम्मेवारीमा नरहने दाबी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री बालकृष्ण खाँण र सोही प्रकरणमा आरोप लागिरहेका केन्द्रीय सदस्य एवम् सांसदद्वय आरजु राणा र मन्जु खाँणका विषयमा पार्टीमा विभिन्न कोणबाट बहस हुने र बचाउ गर्ने भइरहेका बेला महामन्त्री थापाले सामाजिक सन्जालबाट यस्तो धारणा सार्वजनिक गरेका हुन् । महामन्त्री थापाले भने पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै नभएर सबै खाले भ्रष्टाचारको निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारवाही गर्न र सुशासन कायम गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानुन बमोजिमको सजाय पाउनै पर्छ । जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ,’ महामन्त्री थापाले लेखेका छन्, ‘परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ ।’

मंगलबार बिहानमात्रै प्रवक्ता प्रकाशसरण महतले पत्रकार सम्मेलन गर्दै पार्टीका नेताहरुको बचाउ गरेका थिए । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले सो प्रकरणमा मुछिएका नेताहरुको पक्षधरता खुल्ने गरी विज्ञप्ति निकालेर अनुसन्धानमा प्रभावित पार्ने प्रयास गरेका छन् । यसबारे सभापति शेरबहादुर देउवासमेत मौन बसेका छन् ।