निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि शंका लाग्न थालेको छ: नेपाल

21

काठमाडौं : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। अध्यक्ष नेपालले सो विमानस्थलको कामलाई अगाडि बढाउन सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टि समेत व्यक्त गरे।मंगलबार संघीय संसद अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सो विमानस्थलको महत्व अर्थमन्त्री महतले नबुझेको कि भनेर प्रश्न समेत गरे।उनले मुलुकको गेम चेन्जर प्रोग्रामको रुपमा रहेको सो विमानस्थललाई अघि बढाउन संसदीय समितिहरुलाई पनि विशेष ध्यान दिन आग्रह गरे।

उनले भने, ‘पर्यटनसँग पनि जोडिएको, नागरिक उड्डयनसँग पनि जोडिएको र मलाई पनि सधैं भरी त्यसले घच्घच्याईरहेको त्यो निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शंका पनि, डर पनि लाग्न थालेको छ। कतिचोटी मैले कोसिस गरेँ । अहिलेको भन्दा पहिलेका प्रधानमन्त्रीजीलाई यो शिलान्यास गरौं भनेर यो समितिले पनि त्यहाँको अध्ययन गरेर अनेकौं खालको बाधा, अवरोधहरूलाई पन्छाएर बल्लबल्ल निजगढमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने काम भएको थियो । र, त्यसलाई उच्चतम प्राथमिकता दिइयोस् । नेपालले भने, ‘राष्ट्रिय बजेटमा पनि, सरकारको नीति तथा कार्यक्रममा पनि र यो समितिको काममा पनि ध्यान दिइयोस् भनेर त्यसलाई समावेश गरियोस् भनेर म विशेष जोड दिन चाहन्छु । ’अध्यक्ष नेपालले आफूले जति कोसिस गर्दा पनि सो विमानस्थलको काम अघि बढ्न नसकेको गुनासो पनि गरे। उनले ठूला शक्ति राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई विशेष ख्याल गरेर अन्तराष्ट्रिय सम्बन्ध समितिले आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने पनि बताए।