धमाधम हिन्दीमा डब हुदैं नेपाली फिल्म

44

काठमाडौं । नेपालमा भारतीय फिल्मले करोडौं कमाइरहँदा नेपाली फिल्म भने भारतसम्म पनि पुग्न सकेका थिएनन् । यसको ढोका गत वर्ष फिल्म ‘प्रेमगीत ३’ले खोल्यो ।

हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन भएको यो फिल्मले भारु तीन करोड कमाई गरेको जानकारी प्राप्त छ । यो अंक तुलनात्मक रुपमा अत्यन्त सानो होला तर जसरी भारतीय बजारमा नेपाली फिल्मका लागि ढोका खोल्ने काम भयो, त्यो ऐतिहासिक उपलब्धि हो । स्तरीय फिल्म बनाउन सकेको खण्डमा अब नेपाली फिल्मले भारतीय बजारमा आफ्नो उपस्थिति जनाउन सक्नेछ । ‘प्रेमगीत ३’पछि नेपाली फिल्म हिन्दीमा डब गर्ने ट्रेन्ड नै सुरु भएको छ । केही फिल्म डब पनि भइसके । केही तयारीमा छन् । दुई वर्षअघि निर्देशक मिलन चाम्सले भारतीय हलमा प्रदर्शनको योजनासहित फिल्म ‘वीर विक्रम २’लाई हिन्दी भाषामा डब गराएका थिए । तर, कोरोना महामारीले गर्दा उनको योजना सफल हुन सकेन । पछि फिल्मलाई नेपालकै युट्युब च्यानलमा रिलिज गरियो ।

फिल्म ‘सुश्री सम्पत्ति’ पनि हिन्दी भाषामा डब भएर युट्युबमा रिलिज भैसकेको छ । तर, यो फिल्मको डबिङ कमजोर छ । गत वर्ष प्रदर्शन भएको ‘प्रेमा’लाई पनि भारतका दुई भाषा ९तेलुगू र तमिल०मा डब गरिएको छ । भारतको ओटीटीमा फिल्मलाई रिलिज गर्ने योजनामा निर्माण टिम रहेको छ । फिल्म ‘ह्यारी कि प्यारी’को पनि हिन्दीसँगै पञ्जाबी, मराठी र बंगाली भाषामा डब भैसकेको छ ।

त्यस्तै, निर्देशक मुकुन्द भट्ट आफ्नो नयाँ फिल्म ‘एक्स ९’लाई पेन इन्डिया रिलिज गर्ने गरी हिन्दीसँगै भारतको अन्य प्रान्तीय भाषामा डब गर्ने योजनामा छन् । यसका लागि उनले केही भारतीय कलाकारलाई पनि अभिनय गराउँदैछन् । ‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको नयाँ फिल्म ‘कामिनो’ पनि हिन्दी भाषामा डब हुँदैछ । यो फिल्म अंग्रेजी र स्पेनिस भाषामा समेत प्रदर्शन हुनेछ ।

आगामी असार १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परस्त्री’ पनि हिन्दी भाषामा तयार हुँदैछ । निर्मात्री शर्मिला पाण्डेले मंगलवार एक भिडियो फेसबुकमा राख्दै फिल्मको हिन्दी डब भैरहेको जानकारी गराएकी छन् । ‘प्रेमगीत ३’ हिन्दीमा डब भएर भारतका हलमा प्रदर्शन नभएको भए यसको सुरुवात हुनलाई अझै केही समय लाग्न सक्थ्यो । यसमानेमा ‘प्रेमगीत ३’ प्रशंसाको हकदार छ ।