काठमाडौं । सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको कैलालीको धनगढीस्थित एक अस्पतालमा आज बिहानैदेखि लफडा भएको छ। धनगढीको केजी अस्पतालमा अस्पताल र डाक्टरले बिरामीलाई सास्ती दिएको भन्दै लफडा भएको हो।
पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर छाडिएको भन्दै बिरामीका आफन्तले विरोध जनाएका छन्। बुधबारदेखि अस्पतालमा उपचाररत रहेकी डडेलधुराको आलिताल गाउँपालिका–३ की ६० वर्षीया लक्ष्मी बोहराको पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर अन्यत्र लैजान भनेपछि विरोध गरिएको हो। अस्पतालले आफ्नी आमाको पित्त थैलीको पत्थरीको शल्यक्रिया जसरी पनि गरिदिने बताएपछि बिहीबार साँझ अप्रेशन थियटर लगिएको तर पछि गएर डाक्टरले पेटमा प्वाल पारेर गर्न नसकिने भन्दै अन्यत्र लैजान सुझाएको कुरुवा बसेका बोहराका छोरा लक्ष्मणले बताए।
उनले भने, ‘अस्पतालले मेरो आमाको यहाँ उपचार भइहाल्छ अन्त लैजानुपर्दैन भनेर मैले अप्रेशन गर्न गरेको हो तर आधा अप्रेशन गरेर यहाँ गर्न सकिदैन। यो भन्दा अगाडि रिस्क छ भनेर घर लगेर जाउ। दुई महिनापछि काठमाडौँ वा बैङलोरको राम्रो अस्पतालमा देखाउनु भन्नुभयो।’ बोहराले दुरविन विधिबाट अप्रेशन गर्ने भन्दै आमाको पेटमा पारिएको प्वालले दुई महिनासम्म स्वास्थ्यमा तलमाथि भए त्यसको जिम्मेवारी अस्पतालले लिनुपर्ने र उपचारमा अहिलेसम्म लागेको सबै शुल्क फिर्ता पाउनुपर्ने माग गरेका छन्।
उपचारमा संलग्न अस्पतालका व्यवस्थापक समेत रहेका सर्जन डाक्टर दिपक सिंहले दुरविन विधिबाट पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्ने क्रममा आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढि देखिएपछि जोखिमपूर्ण हुने भएकाले रोकिएको बताए।
‘उहाँ पेट दुखेको समस्या लिएर आउनुभएको थियो। पित्त थैलीमा पत्थरी देखिएपछि उहाँहरूकै सहमति लिएर दुरविन विधिबाट शल्यक्रिया गर्न खोजेका थियौँ तर आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढि देखिएपछि जोखिम हुने भएकाले औषधी दिएर ७/८ हप्तापछि गर्दा ठीक हुन्छ भन्ने सल्लाह दिएका हौँ’, सिंहले भने।
सिंहले बोहराकै आफन्तले दुई महिनापछि अन्य अस्पतालमा उपचार गर्न लैजाँदा हुन्छ की हुँदैन रु भनेर जिज्ञासा राखेपछि काठमाडौं वा भारतमै लगेर पनि गर्न सकिने सल्लाह दिएको तर रेफर भने नगरेको बताए। ‘उहाँहरूले नै जिज्ञासा राखेपछि हामीले त्यो व्यवहारिक रुपमा उहाँलाई लैजाँदा हुन्छ भनेर सल्लाह दिएका हौँ। तर तत्काल ज्यानको जोखिम हुने भएकै कारण गर्न नसकिने भनिएको हो। यसमा अन्यथा केही होइन’, उनले भने। -थाहा खबर