चितवन । अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु दुई सय ४० हाराहारीमा झरेको थियो ।
विसं २०७९ असोज २९ गते पहिलो भेला भएर सङ्गठन गरेका उनीहरूले बितेका छ महिनामा देशका अधिकांश जिल्लामा पुगेर त्यहाँका किसान र व्यवसायीसँग छलफल र बजारीकरणमा जुटे । अहिले प्रतिक्रेट ठूलो अण्डाको मूल्य रु तीन सय ७० पुगेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेले यस बीचमा झन्डै ७२ जिल्ला आफूहरू पुगेर बजारीकरणमा काम गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन–चारवटा जिल्लाबाहेक सबै जिल्लामा हामी एकपटक पुग्यौँ । कति मुख्य बजारमा धेरैपटक पुगेर छलफल ग¥यौँ ।” व्यवसायीले अवैध भित्रने कुखुराजन्य पदार्थ रोक्न सम्बन्धित निकायसँग अनुरोधसमेत गर्दैै आएका छन् । व्यवसायीलाई मूल्यमा एकरुपता कायम गर्न उनीहरूले आग्रह गरेका छन् । किसानका अरु समस्या समाधानका लागि पहल गर्दै आएका छन् ।
“पोल्ट्री व्यवसाय बचाउनका लागि अन्तिमपटकको हाम्रो यो प्रयास सफलतातिर गएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो । किसानकोमा झन्डै आधा कुखुरा घटेको जनाउँदै उहाँले लागत मूल्य अझै पाउन नसकेको गुनासो गर्नुभयो । देशभर ३० हजारभन्दा बढी कुखुरा पाल्ने ५० व्यवसायी यो सङ्घमा आबद्ध छन् । अझै १५ जना जति सङ्घमा आवद्ध नभएका बताइएको छ । नेपालको पोल्ट्री क्षेत्रमा परिचय कमाउनुभएका गुणचन्द्र विष्टलाई संरक्षक बनाएर आफूहरू देशव्यापी अभियानमा जुटेको अध्यक्ष पोखरेलको भनाइ छ । व्यवसायी सुरेश वैद्य, त्रिलोचन कँडेल र शिभाजी साह पनि अभियानमा जुट्नुभएको छ । व्यवसायीको बीचमा सहमति, सहकार्य र एकता कायम गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन सक्रिय भएको उहाँको भनाइ छ । सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार १० वर्ष पहिले एक क्रेट ९३० वटा० अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो ।