भक्तपुरमा तीन जना पत्रकार सम्मानित, खेलाडी तथा नृत्य प्रतियोगीलाई नगद पुरस्कार

71

भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुरमा आज सम्पन्न ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ मा राष्ट्रिय समाचार समितिका भक्तपुर समाचारदाता रमेश गिरीलाई सम्मान गरेको छ ।
लामो समय भक्तपुरमा पत्रकारिताको माध्यमबाट संस्कृति, पर्यटन तथा औधोगिक क्षेत्रको बिकासमा पुर्याएको योगदानको कदर गर्दै कार्यक्रममा प्रतिनिधिसभाका सांंसद एवं नेपाली काँग्रेसका नेता दूर्लभ थापाले सम्मान पत्र प्रदान गरि सम्मान गर्नु भएको हो । कार्यक्रममा लामो समय पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकार पेशल आचार्य र हेमराज ढकाललाई पनि सम्मान गरिएको छ ।

त्यसैगरि ११ दिने मेलामा आयोजना गरेको नृत्य प्रतियोतिामा प्रथम, द्धितिय, तृतिय, चौथो र पाँचौ हुनेलाई संस्थाले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेको छ । नृत्य प्रतियोगितामा प्रथम हुने विपिना तामाङलाई नगद रु. ३० हजार, दोश्रो हुने परिचित पुरी र दिपसन कार्कीलाई नगद रु. २० हजार, अजय थिङ लामा रु. १० हजार र चौथो तथा पाँचौ स्थान हुने विनर राई तथा मनधवज तामाङलाई रु. तीन–तीन हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ ।
प्रतियोगितामा निर्देशक, कलाकार एवं सञ्चारकर्मी सूर्य चन्द, नृत्य संयोजन एवं कोरियोग्राफर इन्द्र बिसुन्के र गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।

त्यसैगरि भक्तपुर जिल्लामा रहेर बिभिन्न खेलकुद प्रतियोगितामा भाग लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल सात जना खेलाडीलाई जनही नगद रु. पाँच हजारसहित सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको छ ।
नगद पुरस्कारसहित सम्मानित हुनेहरुमा भारोत्तोलन खेलाडी रोशन मानन्धर, रतनसुन्दर नाखुसी, तारा सुवाल, कबड्डी खेलाडी सरमन प्रजापति, तेक्वाण्डो खेलाडी किरण सितुखु, सुस्मिता तामाङ, बक्सिङ खेलाडी बिजय बाटालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा सांसद थापाले नेताहरुले उद्योग, कलकारखाना नखोल्ने तर त्यस्ता उद्योग, कलकारखानाहरुबाट मोटो रकम असुल्ने र रातारात धनी बनेर राजनीतिलाई कमाउधन्दा बनाउने राजनीतिक प्रबृत्तिको अन्त्य हुनु पर्ने बताउनु भयो । धेरै राजनीतिक नेताहरुले राजनीतिलाई समाज सेवा र जनहितमा नभई कमाउ धन्दाको पेशा बनाएको भन्दै उहाँले रातारात करोडौ कमाउने नेताहरुलाई समाजमा नङ्ग्याउनु पर्ने बताउनु भयो । सांसद थापाले मुलुकनै आर्थिक मन्दीको चपेटामा परेको समयमा आयोजना गरिएको महोत्सवले स्थानीयलाई राहत पुगेको बताउदै नेपालीहरु जस्तो सुकै संकटमा पनि आसेर बाँच्न जान्ने भएकाले उनीहरुको भावना माथि खेलाची गर्न नहुने बताउनु भयो ।
त्यसअवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापा, संस्थाका अध्यक्ष सन्दिप महतले २०७१ सालदेखि भक्तपुरमा आयोजना गरेको भक्तपुर महोत्सव भक्तपुरको पर्यटन बिकास, औधोगिक, व्यापारिक क्षेत्रको बिकासमा टेवा पुर्याएको बताउनुभयो