काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले घरघरमा छरिएका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताए ।
उनले विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुने बताए । उनले छरिएर रहेको रकमलाई पुँजीको रुपमा जम्मा गर्दा लगानीमा उपयोग हुनसक्ने र लगानीको निम्ति पैसाको अभाव नहुने स्थिति बन्ने बताए ।
अध्यक्ष नेपालले भने, ‘सहकारीको बेग्लै महत्व हुनेगर्छ । कसैले सहकारीलाई निजी भित्र राखेर दुई वटाको चर्चा मात्रै गरे हुन्छ भन्ने गर्छन् । होइन, यसलाई महत्व दिने हो भने यसलाई तीन वटा क्षेत्रको रुपमा तीन वटा खम्बाको रुपमा, यसलाई तीन खम्बे अर्थतन्त्र पनि भन्छन् । तीन खम्बे अर्थतन्त्र अहिलेको नेपालको संविधानले तीन खम्बे अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । यो तीन खम्बा भित्र निजी, सहकारी, राजकीय क्षेत्र पर्छ । यि तीनको अनुपात के हुनुपर्छ भन्नेकुरा पनि वहसको विषय छ । निजी क्षेत्रले कति अनुपात ओगट्ने, सहकारीले कति र सरकारी क्षेत्रले कति भन्ने छलफल र वहस हुनुपर्छ ।