खोपबाट वञ्चित बालबालिकाको खोजीमा नगरपालिका

16

ढोरपाटन । जिल्लाको ढोरपाटन नगरपालिकाले गाउँ गाउँमा पुगेर पूर्ण खोप लगाउनबाट वञ्चित भएका र कुपोषित बालबालिकाको खोजी गरिरहेको छ । नगरपालिका स्वास्थ्य शाखाले अहिले गाउँमा गएर स्वास्थ्य आमासमूह गठन गर्ने र बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन थालेको छ ।

जनचेतनाको कमी तथा अशिक्षाका कारण बालबालिका कुपोषित हुने र पूर्ण खोप नलगाएको पाइएको छ । स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीसहित गाउँमै पुगेर स्वास्थ्य आमासमूहलाई स्वास्थ्य शिक्षा, पूर्ण खोपका बारेमा जानकारी दिने र कुपोषित बच्चाको खोजी गर्न सिकाउनलगायतका कार्य गरिरहेको छ ।

नगरपालिकाले नौ वटै वडामा पुगेर खोप लगाउने तथा कुपोषित बच्चाको पहिचान गरिरहेको स्वास्थ्य शाखा प्रमुख केशव थापाले जानकारी दिए । दुर्गम गाउँहरूमा धेरै बालबालिका कुपोषित र पूर्ण खोप नलगाएका भेटिने गरेका छन् । उनीहरूलाई खोप दिने र कुपोषित बच्चालाई पोषण उपलब्ध गराउने गरेको प्रमुख थापाले बताए । अघिल्लो वर्ष केही वडामा २९ बालबालिका कुपोषित र अहिले १५ मा त्यो समस्या फेला परेको छ ।

‘यस वर्ष वडा नं ४, ६, ३ र १ मा पुगेर कुपोषित र पूर्ण खोप नलगाएका बालबालिका भेट्यौँ, अझै पाँच वटा वडामा पुग्न बाँकी छ, अझै धेरै कुपोषित बालबालिका भेटिने आँकलन गरेका छौँ, १३ जनाले पूर्ण खोप नलगाएको पाइयो, उनीहरूलाई खोप दियौँ’, थापाले भने, ‘यो समस्या अभिभावक अशिक्षित भएकै कारण उत्पन्न भएको हो, सुरुमा बच्चालाई खोप लगाएर ल्याउँछन्, खोप लगाएपछि दुखेर रुने हुँदा त्यसपछिका चरणका खोप लगाउनै नलगेको पाइयो ।’

बालबालिका कुपोषित हुनबाट रोक्न तथा पूर्ण खोप लगाउन गाउँको टोल टोलमा स्वास्थ्य आमासमूह गठन गर्ने र उनीहरूलाई खोप लगाउने समय, कस्तो बच्चा कुपोषित हो भन्ने छुट्याउने र समयमै स्वास्थ्य संस्थामा लैजानुपर्ने विषयमा प्रशिक्षति गरिरहेको बताइएको छ ।