रसुवा : कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरुङतर्फ पठाइएको छ।नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्किएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाकाहुँदै रसुवा पुगेका थिए। कोरोना सङ्क्रमणपछि बन्द चीनसित जोडिएका अन्य सिमानाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिए।यसैगरी रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको भन्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले बताएका छन्। उनले भने‚ ‘यसले द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने विश्वास लिएको छु।’आगामी मे १ देखि तातोपानी नाकासमेत पुनः सञ्चालनमा आउने सचिव मरासिनीले बताए। नाका पुनः सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरुङ व्यापार संघका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए।
रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्रीलगायत सामग्री बोकेका २४ मालवाहक ट्रक आजै केरुङतर्फ पठाइएको छ। मालसामान आयातका लागि आजै ६३ ट्रक केरुङ पठाउने तयारी भइरहेको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ। केरुङका लागि ८८७ ट्रक पालैपालो पठाइने भएको छ।कोरोना सङ्क्रमणका कारण २०७६ माघ २७ गतेदेखि बन्द भएको मितेरीपुल आज बिहान ७ बजेदेखि पुनः सञ्चालनमा आएको हो। नाका खुलेसँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरुङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए।














