फिल्मी बजारमा सौगात र सृष्टिको ब्रेकअपको चर्चा

97

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा कलाकारहरुको प्रेम गाँसिनु र ब्रेकअप हुनु संसारमै नौलो कुरा होइन । पछिल्लो समय अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअपको चर्चाले फिल्म क्षेत्र गर्माएको छ । यी दुवैले ५ वर्षभन्दा लामो प्रेम सम्बन्धलाई पूर्णविराम लगाएको चर्चा छ ।

यो जोडी दुई वर्षदेखि विवाह बन्धनमा बाँधिने तयारीमा थियो । कोरोना महामारी नफैलिएको भए सम्भवतः २०७७ सालमा उनीहरु विवाह बन्धनमा बाँधिन पनि सक्थे । विवाहको कुरा गर्न सौगात २०७६ सालको दशैंताका सृष्टिको परिवारसँग भेट्न यूके पुगेका थिए । सृष्टिको परिवारले विवाहका लागि अनुमति पनि दिएको थियो । तर, विभिन्न कारणले उनीहरुको विवाह टर्दै आएको थियो ।

अब उनीहरुले प्रेम सम्बन्धलाई नै टुंग्याएको बताइन्छ । यतिबेला सृष्टि परिवारसँग यूकेमा छिन् । सौगातसँग ब्रेकअपपछि उनी युके उडेको निकट स्रोत बताउँछ । सौगात भने नेपालमा छन् । केही समयअघिसम्म सृष्टिले सौगातसँगका तस्विरहरु इन्स्टाग्राममा राख्ने गरेकी थिइन् । तर, अहिले ती कुनै पनि तस्विर उनको इन्स्टाग्राममा भेटिन्न । यसले पनि उनीहरुको ब्रेकअपको चर्चामा बल पुग्छ । एकअर्कालाई ‘डेट’ गर्न थालेदेखि उनीहरुले कहिल्यै प्रेम सम्बन्ध लुकाएनन् । सार्वजनिक कार्यक्रममा समेत प्रायः एकसाथ नै पुग्थे । उनीहरुले केही फिल्म पनि एकसाथ गरे । उनीहरुले एकअर्कालाई गर्ने प्रेम र केयरले धेरैलाई लोभ्याउँथ्यो । तर, अब दुवै दुई ध्रुव भएको चर्चा छ । प्रेम सम्बन्धलाई खुलेर व्यक्त गरेका सौगात र सृष्टिले ब्रेकअपको चर्चालाई कसरी लिन्छन्, त्यो हेर्न बाँकी छ ।