पुष्पलाल मध्यपहाडी लोकमार्गः पहाडको काखमा सुन्दर सडक, जनजीवनमा सहजता, तस्विरमा हेरौं

1507
photo: Hemraj Dhakal

-हेमराज ढकाल
काठमाडौं । राष्ट्रिय गौरब आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको सुरुवात भएको करिब एक दशक बढि हुन लाग्यो । नेपालको सात प्रदेशका २६ वटा जिल्ला भएर जाने यो सडकको कुल लम्बाई १ हजार ८७९ किलोमिटर रहेको छ । पूर्वको पाँचथर जिल्लाको चिवा भंञ्याङ्गेदखि सुदुरपश्चिमको बैतडी जिल्लाको झुलाघाटसम्म यो लोकमार्ग पुग्दछ ।
आर्थिक वर्ष ०६४/६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले प्रारम्भिक तयारी गरेर मध्यपहाडी राजमार्ग (हालः पुष्पलाल मध्यपहाडी लोकमार्ग)को रेखांकन प्रस्ताव विसं २०६५ फागुन २६ को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो ।

अधिकांश जिल्लामा यो नयाँ सडक आयोजना नभएर पुरानै राजमार्ग वा जिल्लाका साना सडक खण्डलाई जोडेर एउटा लोकमार्ग स्वरुप दिइएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग समुन्द्र सतहदेखि १ सय मिटरदेखि करिब ३ हजारमिटर भन्दाबढि उचाई भएर जान्छ । महाभारत श्रृंखला भन्दा माथि मध्य पहाडका २१५ भन्दा धेरै वस्तीहरुलाई जोड्ने गरी रेखाङ्कन भएको यस लोकमार्गले करिब ५० लाख जनताहरुलाई प्रत्यक्ष यातायात सुविधा पुर्याउने देखिन्छ । यसबाट हुने सुविधाका कारण उक्त क्षेत्रको आर्थिक सामाजिक विकासमा प्रगति हुनुका साथै सो क्षेत्रबाट हुने बसाईसराई निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने सरकारको विश्वास छ ।

यस राजमार्गको रेखाङ्कनभित्र पर्ने विभिन्न जिल्लाहरुमा नेपाल सरकारका १० वटा आधुनिक शहरहरु विकास गर्ने लक्ष्य समेत रहेको हुँदा सो क्षेत्रमा आर्थिक गतिविधीमा वृद्धि भई रोजगारीका थप अवसरहरु सृजना हुने र सर्वसाधरण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ । यस राजमार्ग आसपास रहेका विभिन्न पर्यटकीय स्थलहरु समेत यातायात पूर्वाधारको अभावमा यथेष्ट प्रचार प्रसार एवं विकास हुन नसकेको परिप्रेक्षमा राजमार्गको निर्माण संगै आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा वृद्धि भई अर्थतन्त्र थप चलायमान हुनेछ ।

हाल निर्माणको क्रममा रहेको यो लोकमार्ग सम्पन्न भएपछि पहाडी जिल्लाको विद्यमान आर्थिक सामाजिक अवस्थामा परिवर्तन आउन सक्छ । ती जिल्लाका मानिसहरु संघीय राजधानी जान होस् वा पहाडी जिल्लामा जानकोलागि पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर जानुपर्ने बाध्यता हट्नेछ । नेपाल सरकारले आर्थिक वर्ष २०६९/०७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी उच्च प्राथमिकतामा राखेको छ ।

आयोजना सम्पन्न भई सम्पूर्ण सडक खण्डहरु कालोपत्रे स्तरमा पुगेपछि र प्रस्तावित सबै पुलहरुको निर्माण कार्य सम्पन्न भई सकेपछि मध्यपहाडी क्षेत्र हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै निर्वाध रुपमा यातायात संचालनमा आउने छ ।
यो सडक नेपालको सडक यातायात क्षेत्रमा मेरुदण्डको रुपमा स्थापित भई विकासका सबै संभावनाहरुको ढोका खोल्न कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

कुन–कुन जिल्ला भएर जान्छ यो सडक ?
कोशी प्रदेशको पाँचथर जिल्लाको चिवा भंञ्याङ्गलाई शुन्य मानेर सो स्थान हुदैं तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ्ग, ओलखढुङ्गा र उदयपुर जिल्लालाई समेटेको छ । बागमती प्रदेशको सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग भएर यो लोकमार्ग जान्छ । गण्डकी प्रदेशको गोरखा, लमजुङ्ग, कास्की, पर्वत र बाग्लुङ्ग जिल्लाका भू–भाग भएर यो लोकमार्ग गएको छ ।

लुम्बिनी प्रदेशको रुकुम पूर्व र रुकुम पश्चिम कर्णाली प्रदेशको जाजरकोट र दैलेख सुदुरपश्चिम प्रदेशको अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्लाको झुलाघाट पुगेर यो लोकमार्ग समाप्त हुन्छ ।

यदि बाकीँ खण्डका निर्माण कार्य र पुल समयमा सम्पन्न हुने हो भने यो लोकमार्गले गर्दा पहाडमा बस्दै आएका आम मानिसको दैनिकीमा सहजता आउने देखिन्छ ।