Friday, October 2, 2026
Home समाचार बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काउन माग

बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काउन माग

164

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गरेको छ। उद्धार अभियानद्वारा यहाँ बिहीबार आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले खतिवडाले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिए।

विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पुर्‍याएको खबर प्राप्त भएकाले सरकारले तत्काल उद्धार गर्नुपर्ने उनको भनाइ छ। समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पीडितहरूले विदेशमा आफूहरू अलपत्र भएकाले उद्धार गर्न सामाजिक सञ्जालमार्फत हारगुहार गरेको कुरा सञ्चारमाध्यममा आएकाले यथाशीघ्र उद्धार गरी उनीहरूलाई बेलारुस लैजाने कम्पनी र एजेन्टलाई कानुनी कारबाही गर्नुपर्ने बताए।

उद्धारमा क्रियाशील अभियानकर्मी कृतु भण्डारीले पीडितले सामाजिक सञ्जालका माध्यमबाट उद्धार गर्न आग्रह गरेकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताए। सानुमाया तामाङ (नुवाकोट), कविता थापामगर र अञ्जना मगर (रामेछाप), रत्नमाया राई (धनकुटा), पार्वतीमाया तितुङ (मकवानपुर), रमिता राई (भोजपुर), सुष्मा तामाङ (काभ्रेपलान्चोक), मीना गुरुङ (चितवन) र मार्था सोताङ राई (मोरङ) बेलारुसमा अलपत्र परेका हुन्।