जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम प्रदान

29

चितवन । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न चितवनमा जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ। कार्यक्रम लागू गर्न जनस्वास्थ्य कार्यालय चितवनले अभिमुखीकरण तालिम दिएको हो।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नागरिकलाई स्वस्थ राख्ने यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताए।उनले नमुनाको रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । अधिकारीले पालिकाका स्वास्थ्य शाखा÷महाशाखाका कर्मचारीले जिम्मेवारीपूर्वक कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए।

माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतोले प्रत्यक्ष देखिने भएकाले सर्ने रोग प्राथमिकतामा पर्ने गरेको भन्दै नसर्ने रोगको उपचार र रोकथामलाई प्राथमिकतामा राख्नुपर्ने बताए । रोग लाग्नै नदिने उद्देश्यसहित आएको यो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो।

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाले कार्यक्रम ल्याउँदा राम्रो देखिने तर कार्यान्वयनमा जाँदा समस्या हुने गरेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताए। सो अवसरमा विश्व स्वास्थ्य सङ्गठनका प्रशिक्षक हरिप्रसाद भुसालले बागमती प्रदेशका एक सय १९ वटै पालिकामा यो कार्यक्रम लागू गर्न लागिएको जानकारी दिए। उनले ७१ प्रतिशत मानिसको मृत्यु दीर्घ रोगका कारण हुने गरेको जानकारी दिँदै मुटु तथा रक्त नलीका रोग, दीर्घ श्वासप्रश्वास, क्यान्सर, मधुमेह, मानसिक रोग प्रमुख रहेको बताए।

सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ आहार, शारीरिक निष्क्रियता, मदिराजन्य पदार्थको प्रयोगका कारण दीर्घरोग लाग्ने गरेको उनको भनाइ छ । उनले दीर्घरोग खरायोको गतिमा बढ्दै गएको भन्दै यसको रोकथामका कार्यक्रम कछुवा गतिमा रहेको बताए।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका जयस नेपालले हप्ताको एक दिन तोकेर स्वस्थ व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए। ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’बारे प्रकाश पार्दै उनले कार्यान्वयनको चरणसम्म स्थानीय तहका स्वास्थ्यकर्मीलाई पनि तालिम दिइने बताए।