सबै विद्यालयमा सडक सुरक्षा शिक्षा दिने तयारी

44

काठमाडौँ । ललितपुर महानगरपालिकाले सडक सुरक्षा शिक्षा प्रकाशित गरेको छ । सडक सुरक्षाको व्यवहारिक एवम् सैद्धान्तिक शिक्षा विद्यालयबाट नै प्रदान गर्ने उद्देश्यले सोमबार महानगरपालिकाको शिक्षा महाशाखा महानगर प्रहरीको सहयोगमा सेन्ट जेभिर्यस स्कुलमा पुस्तक विमोचन गरिएको हो । ललितपुर महानगरपालिकाका सबै विद्यालयमा अध्यापन गराउने लक्ष्य राखिएको सो पुस्तक महानगर प्रहरी प्रमुख सीताराम हाछेथुद्वारा सम्पादन गरिएको हो ।

सडकमा हिँड्दा, सडकपेटी, बाटो काट्ने तरिका, ट्राफिक सङ्केतहरू, हेल्मेट र सिटबेल्ट, सबैका लागि सडक, खेलकुद र सडक, आकाशेपुल, सब वे, बसमा सुरक्षा, ताँती-पङ्क्ति, मादक पदार्थ सेवन, ट्राफिक अङ्कल, साइकल, दुर्घटना र बच्ने उपाय, प्राथमिक उपचार, म त ज्ञानी विद्यार्थी, सहित गलत र ट्राफिक चिन्हहरू गरी पुस्तकमा कुल १९ वटा विषय सूची रहेका छन् ।

नगर प्रमुख चिरिबाबु महर्जनका अनुसार विद्यार्थीहरूलाई विद्यालय देखिनै सडकको प्रयोग, सडकपेटी र यससँग सम्बन्धित अन्य पूर्वाधारका विषयमा जानकारी, सतर्कता र सुरक्षाका विषयमा व्यवहारिक शिक्षा दिने उद्देश्यले सडक सुरक्षा शिक्षाको सुरुवात गरिएको हो । सडक, आकाशे पुल, सब वे, सडकपेटी, साइकल लेनहरूको प्रयोगका बारेमा विद्यालयस्तरमै हासिल गरेका ज्ञानले सीमित पूर्वाधारमा पनि सुरक्षित भएर हिँड्न सकिने उनको भनाई थियो ।