उपराष्ट्रपतिमा गठबन्धनबाटै तीन उम्मेदवार, प्रतिस्पर्धीमा चार जना

28

काठमाडौं । आगामी शुक्रवार हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय गठबन्धनमा सहभागी दल उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार बनाउन सहमत हुन सकेनन्। उपराष्ट्रपतिमा गठबन्धनले जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गरेको छ। तर गठबन्धनकै अर्को दल जनमत पार्टीले पनि उपराष्ट्रपतिमा छुट्टै उम्मेदवार उठाएको छ।

उपराष्ट्रपतिमा महिला मात्रै उम्मेदवार बनाउन मिल्ने प्रमुख निर्वाचन आयुक्तको भनाइपछि द्विविधामा परेको गठबन्धनले जसपाबाटै एक महिला र एक पुरुष गरी दुई जनाको उम्मेदवारी दर्ता गराएको छ। सपाबाट रामसहाय यादव र प्रमिलाकुमारी यादवको छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ। रामसहाय यादवको प्रस्तावकमा जसपाका अशोककुमार राई र प्रदीप यादव, एकीकृत समाजवादीका किसन श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी छन्।

समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन्। प्रमिलाकुमारी यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर सह, दीपक कार्की र राजकिशोर यादव छन्।समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनीषकुमार सुमन छन्।“जसपाबाट महिला र पुरुष दुई जनाकै उम्मेदवारी दर्ता गरेर फिर्ता हुने समयसम्म मिलाउने कुरा भएको छ,” गठबन्धनको साझेदार नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले भने। जनमत पार्टीबाट ममता झाको पनि उम्मेदवारी दर्ता भएको छ। झाको उम्मेदवारीलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ। उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन्। समर्थकमा गोमा लाभ सापकोटा, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी र विनिता कुमारी सिंह छन्।

संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले भने पार्टी उपाध्यक्ष समेत रहेकी बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ। शाक्यको उम्मेदवारीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट प्रस्तावक छन्। शाक्यको समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिमाल छन्।शाक्यका प्रस्तावक र समर्थक सबै एमालेका सांसदहरू हुन्। शनिवार बिहान बसेको नेकपा एमाले संसदीय दलको बैठकले उपराष्ट्रपतिमा शाक्यलाई अघि सार्ने निर्णय गरेको थियो। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि शनिवार दिउँसो २ बजेसम्मको समय तय गरेको थियो। उपराष्ट्रपति चयनका लागि आगामी शुक्रवार मतदान हुँदैछ। BBC