सगरमाथाको उचाइ बढ्योः नयाँ उचाइ ८८४८.८६ मिटर

133

मंसिर २३,
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो । नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो । त्यसपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो ।