रामचन्द्र पौडेललाई राजा जस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा छ

60

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै महामन्त्री थापाले राष्ट्रपतिको मुख्य सल्लाहकार प्रधानमन्त्री नै भएको बताए। उनले भनेका छन्, ‘राष्ट्रपति संस्थालाई मर्यादित बनाउने जिम्मेवारी पनि प्रधानमन्त्रीको हो। राष्ट्राध्यक्षलाई नियमित सु–सुचित गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा कम्तिमा महिनामा दुई पटक नियमित रुपमा भेटघाट गर्ने अभ्यास बसाल्नु आवश्यक छ ।’

‘हामीले संविधान निर्माण गर्दा राष्ट्रपतिलाई नेपालको लोकतन्त्रको एक अपरिहार्य र महत्वपूर्ण लोकतान्त्रिक संस्थाको रुपमा परिकल्पना गरेका हौं’ उनले भनेका छन्, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक राष्ट्राध्यक्षको चाहना हो । रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ।’

विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने शैली बदल्न विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायतका विधि र प्रोटोकल परिमार्जनका लागि सरकारी निकायमा छलफल भइरहेको बताए।

‘तत्काल बदलेर सरल र नागरिकमैत्री अभ्यास गर्ने गराउने दायित्व सरकारको हो। प्रारम्भदेखि नै सरकारले यसतर्फ ध्यान दिओस् र राष्ट्रपतिलाई नागरिक राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गरोस् ,’उनले भनेका छन्। उनले कांग्रेसबाट राष्ट्रपतिमा निर्वाचित भएपछि अब सबंको अभिभावक बन्न आग्रह गरेका छन्।