उपमहानगरका उपप्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

33

काठमाडौँ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भए पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

पूर्व मन्त्रीसमेत रहेका सर्वदेव प्रसाद ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा दिएको मुद्दामा अदालतले पक्राउ आदेश दिएको हो । मनीषा एग्री कन्सर्न नेपालगन्जको तर्फबाट ओझाले ठगी कसुरमा मुद्दा हालेका थिए । मनीषा एग्री कन्सर्न र भारतमा रहेको मनीषा एग्री बायो टेक कम्पनी प्रा.लि. हैदराबाद बिच भएको सम्झौता अनुसार आयात हुने सामग्रीको भन्सार क्लीरिङ्गको जिम्मेवारी पाएका कमरुद्दिन विरुद्ध ठगीको मुद्दा परेको हो ।

२०६२ सालदेखि २०६९ सालसम्म कमरुद्दिनले भन्सार एजेन्टको रूपमा काम गरेका थिए । ओझाले कमरुद्दिनले भन्सार एजेन्टका रूपमा काम गर्ने क्रममा भन्सार, क्वारिन्टिन र अदालत समेतलाई भ्रममा पारेको बताए । उनका अनुसार अनुसन्धानका क्रममा कमरुद्दिन राईको नागरिकता र  अन्य कागजातमा बाबुको नाम फरक भएको पुष्टि भएको छ । नागरिकतामा बाबुको नाम गोवरे कवडिया छ भने भारतबाट पैठारी गर्ने मनीषा एग्री बायो टेक कम्पनी प्रा.लि.को कागजातमा अकबर अलि उल्लेख छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले कमरुद्दिन विरुद्ध सार्वजनिक न्याय विरुद्धको कसुरमा मुद्दा परेको र अनुसन्धान भइरहेको जानकारी दिए । ओझाले अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न आलटाल गरेको आरोप लगाए ।