स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने

51

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले महिला स्वास्थ्यका देखिएका समस्या र ती समस्यालाई समाधान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए। 

उनका अनुसार यही फागुन २५ र २६ गते सम्मेलन हुनेछ । सम्मेलन महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित हुने उनको भनाइ छ । सम्मेलनमा यौन, तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय साहयता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणसम्बन्धी विषयमा छलफल हुने उनले जानकारी दिए।

विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले महिला स्वास्थ्यमा प्राप्त भएका उपलब्धि, चुनौती तथा अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्यांकको सम्मेलनमा छलफल हुने बताए । महिला स्वास्थ्यको विषयलाई विस्तार गर्न र सशक्त बनाउनका लागि अनुसन्धान, क्षमता, अभिवृद्धि, नीति निर्माण र पैरबीबीच अन्योन्याश्रित सम्बन्धलाई थप बलियो बनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।