भक्तपुर । भक्तपुरको ताथली स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य केन्द्र घोषणा भएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ढुंगेनस्थित ताथली हेल्थ पोष्ट जिल्लाकै सर्वोत्कृष्ट घोषणा भएको हो।
स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधालगायतलाई मूल्यांकन गरी स्वास्थ्य कार्यालय भक्तपुरले सो स्वास्थ्य चौकीलाई सर्वोत्कृष्ट घोषणा गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए। उनले भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा रहेका स्वास्थ्य केन्द्रहरुको न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको बताए।
सो मापनका क्रममा मापदण्डका सबै सूचकहरुमा उत्कृष्ट अंक ल्याएर ताथली हेल्थ पोष्ट जिल्लामै सर्वोत्कृष्ट भएको बताउँदै नगद पाँचहजार रुपैयाँसहित सम्मान समेत गरिएको बताए।
त्यस्तै जिल्लाका अन्य उत्कृष्ट हेल्थ पोष्टमा दोस्रोमा छालिङ स्वास्थ्य चौकी र तेस्रोमा गुण्डु स्वास्थ्य चौकी छन्। ताथलीमा आयोजित एक कार्यक्रममा स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो।