तुइनबाट एक ट्रक सामान तारेको १४ हजार भाडा

24

काठमाडौं । हुम्ला जिल्लामा कर्णाली नदीमा लगाइएको तुुइनमा सामान ढुवानी गरेको भाडा लिने गरेको पाइएको छ। सो क्षेत्रको कर्णाली नदीमाथि पुुल पनि नभएकाले तुुइनमा सामान ढुवानी गरेर नदी पार पर्नुपर्ने बाध्यता हुँदा स्थानीयले व्यक्तिगत रूपमा निर्माण गरेको तुुइनको भाडा लिने गरिएको हो।

निर्माण व्यवसायीले सर्केगार्ड र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा स्थानीयले निर्माण गरेर प्रयोगमा आएको तुुइनमा सामान ढुवानी गरेबापत भाडा तिर्नुपरेको छ। सलीसल्लासम्म राष्ट्रिय सडक सञ्जाल जोडिएका कारण गाडीमा सामान ढुवानी भएर आउने गर्छ। सलीसल्लामा पक्की पुल निर्माण नभएको र पहिलेदेखि भएको झोलुुंगे पुल जीर्ण भएका कारण सामानलाई तुुइनबाहेक नदी पार गर्ने अन्य विकल्प नदेखिएको हो। जसमा खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको खाद्यान्न विकास निर्माणका सामान र दैनिक उपभोग्य सामान सबै तुुइनबाटै नदी पार गर्नुपर्ने अवस्था छ।

तुुइनबाट ढुवानी भएको खाद्यान्न लिमिटेडले सलीसल्लामै भाडाको घरमा गोदाम बनाएर मौज्दात गर्दै आएको छ भने अन्य निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान पनि त्यसरी नै मौज्दात गर्ने गरिएको छ।सलीसल्लाबाट नदी पार गरेपछि सर्केगार्ड र पिप्लाङससम्म गाडीमा सामान ढुुवानी गर्छ। नदीमा पुल निर्माण नभएपछि भाडा असुलीकै लागि निर्माण गरिएको तुुइनलाई भाडा तिर्नुपर्ने बाध्यता रहेको हो। यसरी सामान ढुुवानी तुइनबाट एक वर्षदेखि गरिँदै आएको छ। तुुइन सञ्चालकले एक ट्रक सामानको १४ हजार भाडा तिर्नु परिरहेको छ। तुुइनबाट सामान ढुवानी गरेको भाडा तिर्नुपरेपछि यसको मारमा उपभोक्ता पर्दै आएका छन्। -देश संचार