अलपत्र तार व्यवस्थापन गर्न मन्त्री शर्माको निर्देशन

53

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँ उपत्यकालगायतका देशका ठूला सहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छिन् ।  आज यहाँ प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा उनले स्थानीयको गुनासो चेतावनीमा परिणत हुनुअघि तार व्यवस्थापनमा जुट्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘ललितपुर महानगरपालिकामा  स्थानीयले पुरातात्विक  क्षेत्रमा तार व्यवस्थापन नगरे आफूहरूले काट्ने भनी चेतावनी दिनुभएको रहेछ  । चेतावनीपछि सेवा प्रदायक संस्थाले सात दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।’

उनले थपिन्, “सड्कलाई सुन्दर र व्यवस्थित बनाउन अव्यवस्थित तार हटाइ व्यवस्थित गर्न जरुरी छ यसको सुरुवात ठूला सहरबाट सुरु गरौँ ।” प्राधिकरणलाई आवश्यक कानुन र नियमावली बनाउन मन्त्रालय लागि परेको बताउँदै मन्त्री शर्माले तत्काल गर्न सकिने कामका लागि सरोकारवाला जुट्नुपर्ने बताइन्। 

“आवश्यकता अनुसार सेवा प्रदायक संस्थाको सहकार्य र समन्वयमा तत्काल गर्न सकिने काम सुरु गरौँ,” उनले भनिन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदीले प्राधिकरणले सेवा विस्तार र गुणस्तर वृद्धि गर्न सुझाव दिइन्। उनले भनिन्, “ कानुन संशोधनको थालनी भइसकेको छ ।

 प्राधिकरणले सेवा विस्तार गुणस्तर बढाइ राम्रो नतिजा दिने गरी काम गर्नुपर्छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले काठमाडौँ उपत्यका लगायतका प्रमुख सहरमा अव्यवस्थित रुपमा रहेका तार व्यवस्थापनका लागि भूमिगत रुपमा अप्टिकल फाइबर राख्ने काम थालनी भएको जानकारी दिइन्।