नेमकीपा अध्यक्ष बिजुक्छेँद्धारा भाजुपोखरीको स्थलगत निरीक्षण

97

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं। १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका छन् । विहिबार अध्यक्ष बिजुक्छेँले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा उहाँले भने, ‘लामो समयदेखि संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको भाजुपोखरीलाई पुनः जीवन दिन भक्तपुर नपाले गरेको कार्य सराहनीय छ ।’ अध्यक्ष बिजुक्छेँले २०२०/२१ सालदेखि नै भाजुपोखरी पुनःनिर्माणको चरणबद्ध रुपमा उत्खनन् कार्य सुरु भएको बताउँदै उक्त पोखरी पनि विश्व सम्पदाकै अभिन्न अंग भएको हुँदा सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदाहरू समय धेरै लागे पनि मौलिक शैलीमै सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्नुपर्नेमा जोड दिएका छन् ।

मानव सभ्यताको विकास र महत्वबारे बुझ्न यस्ता प्राचीन सम्पदाहरूको संरक्षणमा सम्बन्धित निकायले संवेदनशी भएर जगेर्ना गर्नु आवश्यक रहेको बताउँदै उनले भने, ‘हाम्रो देशको इतिहास अरुले नभई हामी आफूले लेखेको हुनुपर्छ । इतिहास र भूगोलविनाको शिक्षा अपूर्ण र अधुरो हुन्छ ।’ उनले विद्यालय र कलेजहरूमा देश विदेशका इतिहास र भूगोलबारे अनिवार्य रुपमा पठन पाठन गराउनुपर्ने तर्क राखे ।

उनले भने, ‘सबै कुराको लिपिबद्ध गर्दै लग्यो भने मानव सभ्यताको विकास बुझ्न सहज हुन्छ ।’
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पोखरी पुनःनिर्माणको लागि विज्ञसहितको समिति गठन गरी समितिबाट प्रस्तुत प्रारम्भिक प्रतिवेदनकै आधारमा पुनःनिर्माणको कार्य थालनी भएको बताए ।

उनले भाजु पोखरीको दक्षिणतर्फको बाटो खुल्ला गर्ने विषयमा भक्तपुर क्याम्पस र त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी छलफल गरिरहेको बताउँदै भाजु पोखरी पुनःनिर्माण सँगै यो ठाउँ देशकै सुन्दर ठाउँको रुपमा विकास हुने विश्वास व्यक्त गरे । पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न भएसँगै पोखरी पुनःनिर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको र पोखरीमा पानी भर्ने कार्यसँगै छिटै सर्वसाधारणको लागि पोखरी खुल्ला हुने बताउँदै उनले पोखरी पुनःनिर्माण र जीर्णोद्धारमा सहयोगी भूमिका खेलेका सबैमा धन्यवादज्ञापन गरे ।