काठमाडौँ । नेपाल भ्रमणमा रहेका बङ्गलादेश सरकारका प्रतिनिधिहरू, बङ्गलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मिलित एक उच्चस्तरीय टोलीले मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरूसँग भेट गरेका छन् ।
बिहीबार मधेसी आयोगको कार्यालयमा भएको सो भेटमा बङ्गलादेशी टोलीले मधेसको सिराहा र सप्तरी जिल्लामा बङ्गलादेश सरकारको सहयोगमा विभिन्न समाज कल्याण सम्बन्धित आयोजनाहरू सञ्चालनमा रहेको जानकारी गराउँदै सो आयोजनामा आयोगको तर्फ बाट सहयोग गर्न अध्यक्ष डा.दत्तलाई अनुरोध गरेका छन् । सो भेटघाटमा दुवै देशमा मानवअधिकारको अवस्था तथा चुनौतीको विषयमा समेत छलफल भएको छ ।
आयोगका अध्यक्ष डा. दत्तले तराई-मधेस सहित नेपालका हजारौँ विद्यार्थीहरू बङ्गलादेशमा अध्ययनरत रहेको र उनीहरूको मानवअधिकारको संरक्षण तथा संवर्द्धन गर्नु त्यहाँको सरकारको समेत दायित्व रहेको बताउँदै विद्यार्थीहरू माथि आउने विभिन्न किसिमका समस्याहरूको निदानार्थ बङ्गलादेश सरकारले आवश्यक रणनीति बनाउनु पर्ने कुरामा जोड दिएका छन् । सो छलफलमा अध्यक्ष डा।दत्तले नेपाल र बङ्गलादेश एक अर्काको हितैषी मित्र रहेको र आगामी दिनमा विभिन्न क्षेत्रहरूमा दुवै देशले एक अर्कासँग समन्वय तथा सहकार्य गरी अगाडी बढ्नुपर्ने कुरा समेत बताएका छन् ।