Friday, October 16, 2026
Home राजनीति ‘पावर सेयरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्छ

‘पावर सेयरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्छ

43

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक पदहरूको बाँडफाँटमा आफ्नो पार्टीलाई पनि भूमिका दिनुपर्ने बताएका छन्। मङ्गलवार दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे भने आफूले केही नसोचेको बताए।

‘चाहना राख्ने बेग्लै कुरा हो। मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन,’ उनले भने, ‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ। पावर सेयरिङमा भूमिका नभए अरूको निम्ति मात्रै हामी बलिदान हुने, अरूले त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन।’

उनले गत मंसिर ४ गतेको चुनावअघि नै तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रसँग आफूले राष्ट्रपतिबारे कुरा गरेको बताए। ‘राष्ट्रपति पदका बारेमा चुनावअघि काँग्रेससँग र माओवादीसँग कुराकानी भएको थियो। त्यस सन्दर्भमा हामीले केही नामहरू पनि अगाडि सारेका थियौँ। यसमा काँग्रेस पनि सहमत भएको थियो माओवादी पनि सहमत भएको थियो,’ नेपालले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई भेटेर राष्ट्रपति उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा भइरहेका बेला नेपालले आफूसँग कुरा गर्न चाहने सबैसँग कुरा भइरहेको बताए।