काठमाडौं । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा शुरु भएको छ । गत बिहीवारबाट शुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो ।
धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ । नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौं श्रद्धालु सहभागी हुन्छन् । परिक्रमामा सहभागी श्रद्धालुहरु सोमवार जनकपुरधाममा विश्राम गरेर (मंगलवार) आज बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् ।
परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत शुरुवात गरेका थिए । मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभुति भएको बताए । उनले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रलाई मिथिला विहारी विकास परिषद् बनाएर विकास गर्नुका साथै परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।